(कर्णाली यात्रा भाग १)
 |
| डडेल्धुरा जाने बाटो |
जीवनले नि धेरै कुरा देखाउँदो रहेछ । "म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो" भन्या जस्तो, हामी आफ्नो योजना बनाउँदै जान्छौ, तर जीवनले पनि आफ्नो योजना बनाइरहँदो रहेछ । नत्र, न त म रसिया पुग्थेँ न त रुगिन ।
नेपाल मै मेडिसिन पढ्छु भनेर तम्सिएर शिक्षा मन्त्रालयमा जाच दीइएको थियो तर रसियाबाट सिट आयो । अब के गर्ने भनेर सोच्दा सोच्दै जाने नै भईयो न गए त्यही पाएको सिट नि गुम्ला भन्ने डर भयो । त्यसैले लौ त भनेर लगियो । म मेरो हजुरबुवालाई सम्झिदै थिएँ वहाँ सधै भन्नु हुन्थ्यो तिमि त एक्ली नातिनी बाहिर त तिम्लाई कसै गरि नि जान दिने छैन। तर वहा दिवंगत भैसक्नु भएको थियो । त्यसैले वहालाई सम्झदै रसिया गईयो आखिर।
नया देश, नौलो भाषा , अनौठा परम्पराहरु पोखराबाट काठमाडौँ पनि एक्लै नगएको म, घर बाहिर कहिले बसेको थिईन। पहिले त आत्तिए, फर्किन्छु भनेर नि सोचे । तर राम भगवानलाई नि त १४ वर्ष बनबास भाथ्यो, यो त के हो र मेरो ७ वर्ष कै सहि तपस्यै सम्झेर बस्छु। तर साची नै बिस्तारै कसरी म त्यहाको बातावरणमा घुल्दै गए पत्तै पाईन ।
अब त त्यही हिउँले सेताम्मे भएका सडकहरु घरहरु, हिउँले खाएर काला भएका रुख हरु त्यही पनि मनपर्न थालेछ । त्यो कठ्यांग्रिने चिसोमा नि आनन्द आउन थाल्यो, र मेरो रसियन भाषा को शिक्षिकाले भने जस्तो कहिले देखि म रसियालाई दोस्रो मातृभूमि मान्न थालें पत्तै पाईन ।
तर अहिले कथा म रसियाको हैन मेरो नेपाल कै गर्न चाहन्छु । नेपालकै कथा यति धेरै छन् कि अरु कथा लेख्ने मन लाग्दैन । हो, जसरी जीबनले एक्कासी मलाई रसिया पुर्यायो त्यसै गरि रुगिन पनि। रसिया आधुनिक र बिकसित छ। त्यहाको बिकासको कथा धेरै पुरानो छ । कति सम्म भने जुन बेला नेपालमा पृथ्वी नारायण शाहले काठमाडौँ हान्दै थिए, नेपाल एकीकरण हुँदै थियो, त्यो बेला त त्यहा ठुला ठुला युनिर्भसिटी बनिसकेका थिए । बिज्ञान, स्वास्थ् सम्बन्धि ठुला ठुला अनुसन्धान र आविस्कारहरु हुँदै थिए।
कहिले कहीं सोच्ने गर्छु, प्रकृतिले त्यती अपहेलना गरे जस्तो लागेपनि कति धेरै अगाडी छ त्यो देश। बर्षको ७\ ८ महिना त हिउँले ढाकिन्छ त्यहा। बर्षमा केहि महिना मात्रै अलि न्यानो, बस्न लायकको हुने , यहाँ को जीबन कति कष्कर थियो होला कल्पना गर्न सकिन्छ । तर पनि अहिले त्यो केहि महसुस नै हुँदैन । शताब्दियौ अगाडी देखि बिकास भएको यो ठाउमा जीवन धेरै सरल र नियमित छ। कति बिकसित छ । कस्ता कस्ता संरचनाहरु, कति धेरै आविष्रहरु, म दङ्ग पर्थें ।
अनि मानब सभ्यतामा सयौ बर्षले पछाडी परेको हाम्रो नेपाल, र यो पिछडिएको देशको सबै भन्दा पिछडिएको मानिने सुदुर पाश्चिम। सुन्न त धेरै सुनेको तर INGO मा काम गरेकोले हेर्न नि पाईयो। यो बाजुरा यात्राको कथा हो। बिभिन्न बिकट ठाउँमा स्वास्थ्य शिबिर राख्ने क्रममा हामी बाजुरा पनि जादै थियौ। सधै जस्तो यसपाली पनि हाम्रो टिममा डाक्टर बिना, अधिबक्ता बिष्णु दिदि, अमृता दिदि र संगीता दिदि साथै अरु सहयोगी स्टाफहरु हुनुहुन्थ्यो ।
हामी नेपालगंजबाट धनगढी हुँदै डडेल्धुरा तिर लाग्यौं। फागुन महिना चिसै थियो र हेर्दा हेर्दै हिउँ पनि पर्नथाल्यो, म रसियाको यादले भावविभोर हुँदै थिए। तर जे होस् दृश्य सुन्दर थियो। सबै जना खुसि भए। तर बढ्दै गएको हिमपात, साँघुरो सडक चालक दाइ केहि आत्तिनु भयो किनकि हिउँले बाटो राम्ररी देखिन नि छोडेको थियो ।
केहि समय गाडी रोकियो र हामी मौसमको आनन्द लिन झर्यौं, निकै सुन्दर देखिन्थ्यो, सेतो हिउँले ढाकिदै गएको सडक अनि पहाडहरु। यस्तै मौसममा रम्दा रम्दै डडेल्धुरा पुगियो। म सोची रहेथें, डडेल्धुरा कति सुन्दर छ । सायद हुने खाने देशमा भए यो एउटा hillstation को रुप मा बिकसित हुनेथियो।
 |
| मार्तडी यात्रा |
कक्षा ७ वा ८ मा पढेको, सायद तारा नाथ शर्माले लेख्नु भएको, ‘घनघस्याको उकालो काट्दा’ भन्ने यात्रा संस्मरण, दिमागमा आइरहेथ्यो। म रोमान्चित भैरहेथे सायद एक् प्रकारको नाटक रंगमंच देखि रहेथे आँखा अगाडी।
डडेल्धुरामा एक रातको बसाइ पछि हामी साँफे बगर तिर लाग्यौं। एक दिन भरिकै यात्रा थियो। साफे बगर एउटा महत्वपुर्ण साँध थियो सुदुरपश्चिमको यात्रामा। यहाँ सम्म आइपुग्दा सम्मको सुदुरपश्मिको चित्रण गर्दै थिए मानसपटलमा । बाटोमा देखिने झुत्रो मैलो कपडा र दुखि अनुहारहरुले सायद गरीबी र बिबस्ताका कथाहरु सुनाइरहेका थिए।
हुन त म मध्यपश्चिम र मध्यमाञ्लका केहि बिकट गाउँहरु पनि घुमेको छु । तर जति गरीब भने नि सायद यो चीनबाट आउने सस्तो कपडाले गर्दाहोला त्यस्तो झुत्रो लगाई म देख्दिन थिएँ, तर सायद यो सुदुर पश्चिममा त्यतिपनि उपलब्ध थिएन । गरीबीको चरम सिमा थियो सायद ।
मार्तडी यात्रा
यी सबै कथाहरुलाई आखामा बटुल्दै साँफेबगर पुगियो र एक रात थकाई मारेर भोलि पल्ट बाजुराको सदरमुकाम मार्तडी तिर लगियो। पानि परेकोले कहाँ हो बाट गाडी जान्न वा पुरै बाटो हिंड्नु पर्छ, त्यस्तै गार्इगुर्इ सुन्दै त्यो थोत्रो सडक यात्रामा लाग्यौं। बाटो झन झन खराब हुँदै थियो। खाल्टाहरू ठुला हुँदै गए । अनि त बेला बेलामा चक्का हिलोमा धसिन थाल्यो। चालकदाई धेरै कम बोल्थे, अनि बाटो नि त्यस्तै, हाम्लाई बोल्ने डर लग्यो । बाजुरामा यो मात्र गाडी हिंड्ने बाटो थियो, तेही पनि यस्तो खराब।
साँची सुदुर पश्चिमलाई हेपेकै रहेछ सरकारले अगाडिको बस भरी मान्छे थिए, बस हिलोमा धसिन्थ्यो, बसबाट सबै झर्थे अनि बस धकल्थे। कहिले बसले मान्छे तान्ने कहिले मान्छेले बस धकेल्ने अचम्मकै दृश्य थियो। अनि गर्दा गर्दा त गाडी रोकियो नै। अगाडी पहिरो ले बाटो गएछ डोज़रले बाटो खन्दै थियो। अनि त त्यो डोज़रको पछि पछि हामी। हरे, यस्तो नि बाटो हुदो रहेछ। त्यति गर्दा गर्दै एउटा खोलो निर पुगियो। बुढीगंगा नाम थियो क्यारे। खोला उर्लेर आइरहेथ्यो। अब त चालक दाई अगाडी जान सकिन्न भन्नु भयो। साझको ५ बाजी सक्यो। बिहान ६ बजे देखि गाडीमा हिंडेको भए नि हामी पैदलै हिडे जसरी थाकी सकेथ्यौ । अब त्यहा बास बस्न त मिल्दैन अनि बिहानै मार्तडी मा प्रशिक्षण चलाउनै पर्छ।
 |
मार्तडी
थकीत जिउ लिएर हामी मार्तडी तर्फ लाग्यौ। अब दुख सुख जे भए नि हामी अगाडी बढ्यौं। २ घण्टामा पुगिन्छ भनेको हिंड्दा हिंड्दा अध्यारो नि भयो । ७ बजी सक्यो अझ अधा घण्टा पहाड उक्लनु थियो। शरीरमा ताकत नि खास थिएन। ओहो अनि कस्तो अनाकन्टार, स्यालको
|
हुइया मात्र सुनिन्थ्यो। हामीलाई डर नि लागि राखेको थियो । बिना भन्दै थिई यो स्याल ले attack त गर्दैन नि ? गर्दैन हामी त्यस्को शिकार हौँ र हाम्लाई attack गर्न ? भन्न त भने त डर त मलाई नि लागिराथ्यो। डरले गर्दा बाटो काटेको पत्तै पाइएन ।
साढे नौ बजे पहाड उक्लियौँ। मार्तडी पुगियो। बाटो जस्तो भए नि मार्तडी त ठुलै बजार रहेछ। प्रसस्तै घर थिए ढुंगाले छापेको। रातिमा त्यती राम्ररी नदेखिएनी यो बिकट ठाउँ को लागि धेरै राम्रो मान्नु पर्छ मार्तडी। जिल्ला स्वास्थ्य प्रमुख ले हामी बस्ने ठाउँ मिलाएको रहेछन । जे होस खाटमा न्यानो गरेर सुत्न पईयो, तातो खाना खान पईयो । हामी त आइपुग्यौ । हाम्रो भारी भरिया खोजेर ल्याउँदै थिए camp coordinator । फेर्ने लुगा नी छैन । तेसै सुतियो, थाकेको बेला।
बिहान उठेर बाहिर निस्केपछि पो देखियो साँची सुन्दर रहेछ मार्तडी। कता कता घान्द्रुक जस्तै लाग्ने। तर घान्द्रुक एउटा सम्पन्नहरुको बस्ति थियो । trekking route मा पर्ने घान्द्रुक, होटेल व्यवसायीहरु बस्ने सुन्दर सम्पन्न बस्ति थियो । तर मार्तडी सुन्दर भए पनि सायद आफ्नै दुख को कथा बोकेको थियो। हिउँले ढाकिएका पहाडहरुले घेरिएको मार्तडीलाई हेरेर म दङ्ग परे, हिजोको यात्राको पिडा सबै बिर्सिएँ ।
आज प्रशिक्षणको सबै तयारी भैसकेछ। हाम्रो कपडा भने अझ बाटोमै छ। न नुहाई धुवाई न के, तेही तालले त्यो दिन प्रशिक्षण चलाइयो स्वास्थ्य र गरेलु हिंसाको विभिन्न बिषयमा जिल्लाका केहि बुझ्ने मानिसहरु संग केहि ज्ञान बाड्यौं भने त्यहाँका अनुभवहरु नि साटियो ।
यहाको यो नौलो अनुभव पछि हाम्रो गन्तब्य रुगिन थियो। प्रशस्तै उत्साह डर र शंकाहरु लिएर हामी तेस्रोदिन कोल्टी तिर प्रस्थान गर्यौं ।