Saturday, 23 June 2012

लक्ष्यहीन जीबन

केहि  हराए जस्तो ,
केहि बिराए जस्तो
केहि बिर्सिए जस्तो,
केहि सम्झिए जस्तो,
किन मन आत्तिए जस्तो,
किन म कतै भट्किएको जस्तो 



जीवनका पाइलाहरू, सोचेरै चाले जस्तो लाग्छ
टाकुरामा पुग्ने लक्ष्य, पनि लिएकै जस्तो लाग्छ
तर पनि आज हीड्दा हिंड्दै अनायास
जीवन कता कता लक्ष्यहीन भए जस्तो
ओदान हराएको डुंगामा, तैरिरहे जस्तो
केहि हराए जस्तो
केहि बिराए जस्तो










Friday, 22 June 2012

रसिया देखि रुगीनसम्म- कर्णाली यात्रा भाग २




कोल्टी सम्मको हिमयात्रा

बाजुराको रुगिनमा स्वास्थ्य शिबिर राख्न हिडीएको, मुख्य  यात्रा त अब सुरु भयो । सुन्दर मार्तडीबाट अब कोल्टी तिर प्रस्थान गर्दै थियौ ।  तर कति दिन लाग्छ भन्ने कुरामा हामी कोहि पनि बिस्वस्त थिएनौं । स्थानीयहरु कोहि ६ घण्टा भन्दै थिए, कोहि २ दिन भन्दा चाडो पुगिन्न भन्ने दाबी गर्दै थिए । जानु अघिल्लो रात को पानीले बाटोमा हिउँ परेको हुन सक्ने आंकडा पनि लगाइदै थियो । ‘Ignorance is a bliss.- अनभिज्ञता पनि बरदान हो  भन्या जस्तो हामी पनि जे पर्ला देखा जायेगा भनेर हिंड्यौं. पट्यारलाग्दो ओरालो, थकाई लाग्ने उकालो तेस्तै त हो पहाडको बाटो ।  बाटोमा  खच्च्ड़का बथान भेटिन्थे । पहिले त खच्चड देखि हामी तर्सिने अनि सायद हामी देखि खच्चड तर बिस्तारै बुझ्दै थियौं कति सोझो प्राणी रैछ त्यो । जति भारी बोकाए पनि चुपचाप हिंडीरहने, न आफ्नो अधिकार खोज्छ, न केहि सुविधाको माग । यस्तो लाग्यो, सुदुर्पस्चिमका निमुखा जनताहरु पनि एकप्रकारले  यिनै प्राणीहरु जस्तै भएका थिए । जति दुख भए पनि चुपचाप सहेर बस्ने ।
यसरी लौरोको भर, खच्चड संग दोस्ती गरेर हिंड्दा हिंड्दै बाटामा कपासको थुप्रो जस्तो देखिने हिउँ देखा पर्न थाले । हेर्दा हेर्दै पुरै पहाड नै सेताम्मे भयो । हिउँले ढाकेको जंगल र उकालो बाटो अब रमाइलो पनि । हिमाल नै हिमालको देश, बिदेशी हरु तेही हिमाल हेर्न आउँछन् । तर पनि हिउँ छुन पायो भने दंग पर्ने नेपालीहरुको बानी  । साथीहरु सबै दङ्ग  हिउ देखेर, र फोटो पनि खिच्न थालियो । यत्तिका हिउँ त अन्नपुर्ण बेस क्याम्पमा पनि थिएन । झन्डै रसिया बिर्साउने, डेढ दुइ फिट बाक्लो हिउँ थियो, हामीले सोचेका पनि थिएनौ । बेला बेलामा भारी बोकेर हिंडिरहेका भरियाहरु पनि देखिन्थे । न जिउमा गतिलो लुगा छ, न त गतिलो जुत्ता । तर पनि, आफु भन्दा गह्रौं भारी बोकेर फट्टा फट हिंडिरहेका थिए । गरीबलाई न जाडो हुँदो रैछ न त गर्हुँगो, शायद भोक नि कमै लाग्दो हो । के गर्नु!  येस्तै कुरा हरु सोच्दै प्रकृतिको आनन्द लिंदै, हिंड्दा हिंड्दा ७/८ घन्टा बितिसकेछ । तर पनि बाटो सकिने हैन । अब त चिन्ता पर्न थाल्यो किनकी साँझ पनि पर्न लाग्यो । भरियाहरुलाई सोध्दा थाहा भयो, १ घण्टा जति पर पान्डुसेन भन्ने गाउँ रहेछ, सायद त्यही बास पायिएला । अब बिस्तारै बल्ल ओरालो बाटो आयो, तर हिउँले चिप्लो भएर हिंडनै गार्हो । यहाँ चिप्लिएर लड्यो भने कतिवोटा फ्र्याक्चर हुन्छ यहि सोच्दै, पुरै लौरो कै भरमा हिंडियो । बल्ल गाउँ देखा पर्यो, अनि सास आयो । एउटा सानो घर हो वा होटेल, बास बस्ने ठाउँ भेटयौं । अब अगेना अगाडी बस्न थालेपछि मात्र थकाई लागेको थाहा भयो । घुडाबाट तल सबै हिउँ र पानीले भिजेका थियौं, कपडाको  भारी बाटोमै  होला, त्यहीं अँगेनामा जुत्ता मोजा र कपडा सुकायौं । अब येत्तिकै  सुत्नुपर्छ, के गर्नु । उसिना चामलको भात, जत्ति चपाए नि न निलिने, अनि मुला आलुको तरकारी, सिमिको तिउन चाहिं मिठै थियो । जस्तो भए नि  भोलि हिंड्नलाई तागत चाही हाल्यो ।  थकाई लागेर दुखेको जिउ, भुसुक्कै भईएछ, न सजिलो खाट न त न्यानो ओछ्यान तै पनि निन्द्रा लाग्दो रैछ । यसरी खच्चडको बथानको साथ, लड्दै पड्दै आएको हिउँ, खाना पकाउने अगेनामै जुत्ता सुकाएको, उसिना चामलको  भात खाएको यही थियो पान्डुसेन सम्मको यात्राको सम्झना ।
१ दिनमा पुगिन्छ भनेको कोल्टी आज दोस्रो दिन हिंड्दै थियौं । तेही उकालो ओरालो बाहेक यो यात्रा खास रहेन । बरु कोल्टी पुगेपछि चाहिं आधी बाटो मात्र कटेको भए पनि निकै खुशी लाग्यो, नेपालगंज बाट काठमाडौँ आए जस्तो । बाजुराको बिमानस्थल रहेको कोल्टी, नेपालगंज र सुर्खेत जस्ता सहर को सम्पर्कमा रहेर होला, निकै चहल पहल र बिकसित देखिन्थ्यो । यहाँ बिजुली पनि रैछ र बस्न लाई गतिलो होटेल । खाना पनि बल्ल अलि राम्रो खान पाईयो । ताजा दुध र लोकल कुखुराको मासु. बल्ल तागत आए जस्तो भयो । खाना खाए पछि, थकाई र आधा पेट भएर न्याउरो भएको हाम्रा अनुहारहरुमा बल्ल चमक आउन थाले । मैले महसुस गर्दै थिए, सधै गरिबीको चपेटामा रहेका हाम्रा झन्डै ५० प्रतिशत जनता जसले दिनमा २ छाक भात पनि मुस्किलले खाना पाउँछन्, कस्तो महसुस गर्दा रैचन । उनीहरू दुध मासु जस्ता पोसिला खाना त बिरलै  पाउंछन् । अनि किन निन्यौरा नदेखिउन ।

डरलाग्दो कर्णाली यात्रा


कोल्टीमा बिश्राम, राम्रो भोजन र अरामदायी सुताई पछि हामी फूर्तिका साथ रुगिन जान तयार भयौं । तेही लौरो, तेही उकालो ओरालो, पत्थरे बाटो, कर्णालीको गडगडाहट, पारी मुगु वारी बाजुरा, त्यो दृश्य साँची नै सुन्दर थियो । आँखा क्यामेरा भए नझिम्काई खिची राख्थें जस्तो लाग्थ्यो, सधैँ यसरी नै हिंडी रहुँ जस्तो । अब हिंड्दा हिंड्दा खुट्टाहरु थाक्न पनि छोडी सकेका थिए, एउटा तालमा हिंडी रहेका थियौं । चिया नास्ता गर्न सानातिना झुपडीमा पसिन्थ्यो, चाउचाउ वा कोदोको रोटी, वा कोहि खाना पकाइदिन माने भने भात खान पाइएला । हामी जहाँ बस्थ्यौं शायद मौसमले गर्दा काला भएका, दुब्ला अनुहार  र कौतुहल भरिएका आँखाहरुले हामीलाई घेरी हाल्थे । हामी रुगीनमा स्वास्थ्य शिबिर चलाउन आएको भने पछि त झन, कोहि आफ्नो स्वास्थ्य सम्बन्धि गुनासाहरु सुनाईहाल्थे भने कोहि केहि आर्थिक सहयोग पाइन्छ कि भन्ने आसले आफ्ना समस्याहरु पनि बयान गर्थे ।  न राम्रो स्वस्थ, न त शिक्षाको पहुँच, न गतिलो खाना नै खान पाउनु, न त सरसफाई सम्बन्धि ज्ञान । यस्तो लाग्थ्यो यो मानब समाज नै हैन । मानब सभ्यताका कुनै पनि लक्षण देखिन्थेन यो ठाउँमा । तर पनि यी सबै बाट अनभिज्ञ यी सोझा जनताहरु हँसिला देखिन्थे, र हाम्रो क्यामेरामा खिचिनका लागि इस्माइल दिरहेका थिए । यहि दुंगा, चट्टाने पहाड, यसैलाई आफ्नो जिन्दगि मानेका उनीहरुलाई आफु कति कुराबाट बन्चित छौँ भन्ने कुराको भान पनि हुन्थेन शायद । साँची नै कस्टकर लाग्यो यहाको जीबन । पहाड पनि पुरै चट्टान नै चट्टानको, खेती योग्य जमिन त तेही कर्णाली वारी पारीको खेत देखिन्थ्यो, नत्र पुरै बंजर, न धेरै गाईबस्तु नै देखिन्थे धेरै । “कर्णाली पारी, छैन खेतबारी, रुखो छ टाडी, झम ताडा झम झम” भन्ने गीत खुब मन परेथ्यो त्यो बेला बाजुराको यो कस्टकर जीवनलाई नियाल्दै हिंडीरहंदा ।यो तेस्रो दिन पनि यौटा सानो गाउँ को झुपडीमा बास बसियो ।  तेही रातो, निलिनै गार्हो उसिना जस्तो चामलको भात खाएर स्लीपिंग ब्याग भित्र सुतियो, खुट्टा नि तन्काउन नमिल्ने कुच्रुक्क परेको कोठामा ।

अब आज चौथो दिन,  शायद हाम्रो यात्राको अन्तिम दिन,  जे जति ताकत बटुलेर बिहानै  सुरु गर्यौं, कुखुरा बासे संगै । बाटो अलि गार्हो भएको संकेत त पाएका थियौं । बाटो झन झन अप्ठ्यारो हुँदै गइरहेथ्यो ।  पहाड जख्रक्क परेको , रक क्लैम्बिंग गर्ने जस्तो थियो, समत्नलाई बोट बिरुवा समेत हुन्थेन कतै कतै, कुनै ठाउँमा त बाटो नै थिएन, घस्रेर, भित्ता समातेर हिंडनु पर्ने, यसो हात वा खुट्टा चिप्ले सिधा ४/५ सय फीट तल कर्णालीमै सुइसाइड हुने । मलाई त त्यो caravan भन्ने फिलिममा तेस्तै भिर बाट याक खसेको दृश्य आँखा अगाडी आइ रहेथ्यो । हाम्रो त अब खुट्टा नि काँप्न थाले । येस्तो बेला त खुट्टाले नि साथ छोड्ने रैछ यार, बिना भन्दै थिई । १ घन्टाको यो कस्टकर यात्रा पछि बल्ल फराकिलो बाटो आयो, अनि हाम्रो सास पनि ।
हामीलाई आफुलाई सम्हालिन गार्हो थियो तर  भरियाहरु, काँधमा ते
त्रो गह्रौ भारी बोकेर नि हिंडिरहेका थिए । हरे शिब, कस्टकर जीवन को पराकास्ठा थियो त्यो । यो २१औं सताब्दीमा पनि जीवन यसरी बाँच्नु पर्ने बाध्यता । कति सुनाऔं, जति सुनाए पनि कमै हुन्छ । हाम्रो लागि त दुइ दिन को यात्रा मात्र थियो यो । तर यहाँका जनताको लागि, सधै यसरी नै  बाँच्नुपर्ने बाध्यता।  थाकेर शिथिल भएको शरीर, मृत्युको मुखबाटै उम्केर आएको जस्तो त्रास, हामी कोहि पनि बोल्न सक्ने स्थतिमा थिएनौं । निलो कर्णाली गडगडाउँदै बगिरहेथ्यो. पारी मुगु, अब बिस्तारै हुम्ला पनि देखियो । प्राकृतिक रुपमा निकै सुन्दर, तर अब दंग पर्ने मन पनि थिएन । हुम्ला मुगु र बाजुराको साँध, अनि उपल्लो डांडामा रुगिन गाउँ देखा पर्यो । हामी मध्ये कसै कसैका आँखा रसाउन थाले, बाल बच्चा परिवार भएका साथीहरु थिए, सायद तेसैले भावुक बनेका । 
अन्त्यमा रुगिन आइपुग्यौं। क्याम्पमा अरु साथी आइपुगी सकेका थिये । बल्ल अलि आनन्द भयो । रुगीनमा १ हप्ताको स्वास्थ्य शिबिर चलायौं । बाजुरा लगायत हुम्ला मुगुका बिरामीहरु पनि आए । त्यहाँका जनताहरु धेरै खुशी भएका थिए । कतिले  त डाक्टर कहिले देखेकै थिएनन्, कस्तो हुन्छ डाक्टर भनेर हेर्न आउनेहरु पर्नी थिए धेरै । यी  डाक्टर त हाम्रै नाती नातिना जस्तै हुँदा रैछन भनेर दंग पर्थे। बिस्तारै, त्यो सुदुर्पस्चिमेली भाषा पनि बुझिदै थियो . “लादो दुख्दो , राँगन लाग्दो , हपी त्येस्तै त्यस्तै बोलिहरू मिठो लाग्थ्यो, र जाने बेला मिठो आसिश नि दिएर जान्थे “ तमिकन भलो होई जाउ,” “तमि लाख लाख बर्ष जिया” हामी खुशीले गद्गद् हुन्थ्यौं । तेती टाढाबाट आएको सार्थक भयो । र अन्तिम दिन स्कुलका बिध्यार्थीहरुले नाच गान गरे, देउडा भाकामा आफ्ना दुख पिडाहरू भरेको गीत गाए र नाचे, नचाए.  यो केहि दिनको बाजुरा बसाइमा, हामी साँच्चै एउटा आम नेपालीको जीबन बाँचेका थियौं । भन्छन नि सुखमा भन्दा दुखमा गाँसेको नाता गाढा हुन्छ । शायद ठिकै भनेछन । मैले नेपालको मुटु बल्ल बुझेको थिएँ । नेपाल सँग प्रेम बसेको थियो, कहिले नमेटिने प्रेम र  एउटा अठोट पनि गरेको थिएँ , नेपालको लागि केहि गर्ने, आफु सक्षम हुनलाई जहाँ पुगे पनि, पछि फर्केर आउने आफ्नै देशमा । यो सबै घटनाक्रमले मेरो मनमा अमिट छाप छोडेर गयो । अहिले म धेरै टाढा छु, बाजुरा बाट, नेपाल बाट, तर मन सधै त्यहीं रहन्छ चाँडो आफ्नो लक्ष्यमा पुगेर नेपाल फर्कने आतुरी रही रहन्छ सधै । नेपालको माया लागि रहन्छ ।

Tuesday, 12 June 2012

Strong women of Nepal


It was about the time when  I was working in syangja district hospital as a medical officer. Actually that was a great opportunity for me to know about real Nepal, the underlying deep seated problems of health and social problems in rural Nepal . I would like to share one of those memorable experiences that I gained while working there.
It was just a usual day, after seeing about 100 patients in the OPD and cases at emergency I departed for my quarter.  At about 9.00 pm , I got  a call from the maternity , the usual evening hassle. A woman had been brought from a near by village. She had delivered her baby at home few hours ago and was unable to deliver the placenta. She was bleeding continuously since then. Despite the government program to encourage the pregnant ladies to deliver at a health facility, the data still shows that more than 80% of  deliveries  are conducted at homes, unsafe and unhygienic, causing death of many mothers and infants.
Ya, it was another case of retained placenta with post partum hemorrhages. I ran to the delivery room. She had been brought in a stretcher, her saree soaked in blood and she was very weak, may be fainting, and going into a shock. I, along with the experienced nurses there resuscitated her, running saline in both arms, removed the retained placenta and with medications her bleeding stopped. But she looked very pale and weak, her heart still running fast. To my knowledge she needed blood transfusion, and would have preferred to refer her to Pokhara since we didn’t have enough facility for that.
So, I went to talk to her family, but out side the delivery room I saw her husband, smelling of alcohol and her mother in law I guess along with few other villagers. I dint know whom I was supposed to talk to. Still I tried to explain the situation and that she needs blood transfusion and needs to be transferred to Pokhara for that.  But the husband seemed to be furious for the trouble his wife was causing.  He said so much he has already done bringing her to the hospital and now it was our responsibility to manage her further. With this uncooperative husband, and the reluctant mother in law, I didn’t know what to do. The lady said she will be fine and she doesn’t want to go anywhere. I had no option so I decided to wait till morning. But with few bottles of saline she seemed a bit stable and in the morning I sent to check the blood, the hemoglobin was still low. I was a bit worried and was discussing with the matron. Then she told me” Oh dac sab, don’t worry, these women here are very strong. They won’t die so easily. She will be fine. “In the evening I could see her nursing her child with a smile in her face. And she was requesting me to discharge her the following day as her older child and livestocks were waiting for her.
I was wondering how she would be able to get the warmth and care that she needed at the moment, a healthy diet and a good rest; with such a husband to look after her most probably not. And in my mind I was thinking, in fact thanking god, for making these women so strong. But how long will these women stay strong, how much will they be able to endure. Still many mothers are dying of childbirth, dying in home or in hospital because they were brought too late, Sometimes the cause is financial and at other times it is social. Yes government is providing free delivery, allowing some small incentive which can support them with good nutrition at least in the initial phase. But if we do not address these social issues, if we do not make the people aware about the family support and care necessary to decrease the maternal mortality, it is still not easy to meet our targets.  Before many more of these young mothers lose their life and collapse for ever something has to be done to bring about awareness in our society.
HEALTHY MOTHER, HEALTHY CHILD, HEALTHY FAMILY, HEALTHY NEPAL

सगरमाथाको देश

नेपालमा भैन्जेल् मलाई लाग्थ्यो हाम्रो देश नेपाललाई नचिन्ने मान्छे को होला र संसारमा। यहाँ आएर पो थाहा भो, नचिन्ने मान्छे मात्र हैन, नेपाल मात्र भनेर चिन्ने मान्छे कम नै हुँदा रहेछन् । यो मेरो एक्पटक मात्र हैन धेरै पटक को अनुभब हो । आज नि तेस्तै घटना घट्यो र मलाई यो ब्लग लेख्न मान लाग्यो।
नयाँ ठाउँ , नयाँ काम, नयाँ मान्छे , चिना परिचयको क्रम, सधैं जस्तो एक जनाले सोधे where are you from । मैले भने nepal , उस्ले भनिन sorry मैले दोहोर्याए नेपाल । उन्को  अनुहारमा अझ नि तेही (?) प्रश्न चिन्ह थियो । मैले बुझे, यस्ले नि चिने छैन रैच हाम्रो देश। हामी चाँहीँ कती न गर्ब गर्छौ । अनी मैले भने do you know mount everest ? बल्ल उन्ले मुस्कान दियिन। That is nepal । उस्ले भनिन oh I see .
हो सगरमाथाको देश हो नेपाल, बुद्ध जन्मेको देश हो नेपाल। यो हाम्रो गौरब मात्र हैन हाम्रो चिनारी बनेको छ।। यी प्रतीक हरु नहुने हो त म आफ्नो परिचय नि कसरी दिन्थें होला । हुन त मलाई गर्ब लाग्छ यस्तो चिनारी पाउनुमा । तर हामीले के गर्न सकेका छौं त यो देश लाई चिनाउन। नेपाल मात्र भनेर हाम्रो देश चिन्ने दिन कहिले न अाउला त। चेत्रफल ले सानो छ माने। तर जापान नि कहाँ ठुलो छ र। अनी कोरिया अनी सिङ्गापुर। स्यानै छन त। तर मेरो देश जापान भन्यो भने कस्ले दोहोर्यएर सोध्छ र where is that भनेर ।
ती देशहरुले आफ्नो चिनारी राम्रै बनाइसकेका छन विश्व सामु। पहिचान बनाएका छन। ती देशहरु बीकसित् मानिन्छन । तर ती देश्हरु आँफै बीकसित् भएका भने होइनन। न त ती USAID वा ADB को सहयोगले बीकसित् भाका हुन। ती देशको बिकासमा त्यहाँका जनताको कडा परिश्रम् छ, नेता हरुको त्याग छ। थोपा थोपा मिलेर समुन्द्र बन्छ। एक दुई थोपा त आँफै सुकेर जान्छ। हुन त मैले नि अहिले सम्म केही गर्न सकेको छैन । तर केही गर्नेछु भन्ने इछ्या चाँही छ। हामी सबै को इछ्या भये र हामी सबै लागि परे देश अवस्य बीकसित् हुन्छ , भन्ने मेरो विश्वाश चाँही छ।
आशा गरौं भबिस्यमा सगरमाथा को देश नेपाल हैन , नेपालको सगरमाथा भनेर चिनाउन पाइयोस।
जय नेपाल

happy mothers day


mother is my first love,
my first teacher,and my first friend, 
I don't know if god is there

but,
 if he is there he must be like my mother
So on this special day

I want to say
Thank you mummy, 
Happy mothers day.
 

Dedicated to mum Narayani Singh

शुभकामना नयाँ बर्षको






बसन्तमा पलाएका नयाँ पालुवा जस्तै
मिठो सुबाश र आनन्द भर्ने बाचा लिएर
नयाँ उमंग र नयाँ जोश मन्मा भर्दै
 नयाँ अठोट र मनमा द्रिध विश्वाश लिएर
स्वागत गरौं नयाँ बर्ष २०६९ लाई 
प्रगती र परिवर्तनले चुमुन  पाइला पाइलाम
सफलता  सदा  हजुरको जीबनमा
कुलत र कुसन्स्कारका कालो बादल हटेर जाउन।।
छाओस शान्ती र सम्रिद्धी हामी सबैको जीबनमा
सुस्वास्थ र खुशी यहाँ हरुको




My first poem- 1 Baisakh 2069

रसिया देखि रुगीनसम्म- कर्णाली यात्रा भाग १


(कर्णाली यात्रा  भाग १)
1.JPG (300×225)
डडेल्धुरा जाने बाटो 
जीवनले नि धेरै कुरा देखाउँदो रहेछ । "म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो"  भन्या जस्तो, हामी आफ्नो योजना बनाउँदै जान्छौ, तर जीवनले पनि आफ्नो योजना बनाइरहँदो रहेछ । नत्र, न त म रसिया पुग्थेँ न त रुगिन ।

नेपाल मै मेडिसिन पढ्छु भनेर तम्सिएर शिक्षा मन्त्रालयमा जाच दीइएको थियो तर रसियाबाट सिट आयो । अब के गर्ने भनेर सोच्दा सोच्दै जाने नै भईयो न गए त्यही पाएको सिट नि गुम्ला भन्ने डर भयो । त्यसैले लौ त भनेर लगियो । म मेरो हजुरबुवालाई सम्झिदै थिएँ वहाँ सधै भन्नु हुन्थ्यो तिमि त एक्ली नातिनी बाहिर त तिम्लाई कसै गरि नि जान दिने छैन। तर वहा दिवंगत भैसक्नु भएको थियो । त्यसैले वहालाई सम्झदै रसिया गईयो आखिर।

नया देश, नौलो भाषा , अनौठा परम्पराहरु पोखराबाट काठमाडौँ पनि एक्लै नगएको म, घर बाहिर कहिले बसेको थिईन। पहिले त आत्तिए, फर्किन्छु भनेर नि सोचे । तर राम भगवानलाई नि त १४ वर्ष बनबास भाथ्यो, यो त के हो र मेरो ७ वर्ष कै सहि तपस्यै सम्झेर बस्छु। तर साची नै बिस्तारै कसरी म त्यहाको बातावरणमा घुल्दै गए पत्तै पाईन ।
अब त त्यही हिउँले सेताम्मे भएका सडकहरु घरहरु, हिउँले खाएर काला भएका रुख हरु त्यही पनि मनपर्न थालेछ । त्यो कठ्यांग्रिने चिसोमा नि आनन्द आउन थाल्यो, र मेरो रसियन भाषा को शिक्षिकाले भने जस्तो कहिले देखि म रसियालाई दोस्रो मातृभूमि मान्न थालें पत्तै पाईन ।
तर अहिले कथा म रसियाको हैन मेरो नेपाल कै गर्न चाहन्छु । नेपालकै कथा यति धेरै छन् कि अरु कथा लेख्ने मन लाग्दैन । हो, जसरी जीबनले एक्कासी मलाई रसिया पुर्यायो त्यसै गरि रुगिन पनि। रसिया आधुनिक र बिकसित छ। त्यहाको बिकासको कथा धेरै पुरानो छ । कति सम्म भने जुन बेला नेपालमा पृथ्वी नारायण शाहले काठमाडौँ हान्दै थिए, नेपाल एकीकरण हुँदै थियो, त्यो बेला त त्यहा ठुला ठुला युनिर्भसिटी बनिसकेका थिए । बिज्ञान, स्वास्थ् सम्बन्धि ठुला ठुला अनुसन्धान र आविस्कारहरु हुँदै थिए।
कहिले कहीं सोच्ने गर्छु, प्रकृतिले त्यती अपहेलना गरे जस्तो लागेपनि कति धेरै अगाडी छ त्यो देश। बर्षको ७\ ८ महिना त हिउँले ढाकिन्छ त्यहा। बर्षमा केहि महिना मात्रै अलि न्यानो, बस्न लायकको हुने , यहाँ को जीबन कति कष्कर थियो होला कल्पना गर्न सकिन्छ । तर पनि अहिले त्यो केहि महसुस नै हुँदैन । शताब्दियौ अगाडी देखि बिकास भएको यो ठाउमा जीवन धेरै सरल र नियमित छ। कति बिकसित छ । कस्ता कस्ता संरचनाहरु, कति धेरै आविष्रहरु, म दङ्ग पर्थें ।
अनि मानब सभ्यतामा सयौ बर्षले पछाडी परेको हाम्रो नेपाल, र यो पिछडिएको देशको सबै भन्दा पिछडिएको मानिने सुदुर पाश्चिम। सुन्न त धेरै सुनेको तर INGO मा काम गरेकोले हेर्न नि पाईयो। यो बाजुरा यात्राको कथा हो। बिभिन्न बिकट ठाउँमा स्वास्थ्य शिबिर राख्ने क्रममा हामी बाजुरा पनि जादै थियौ। सधै जस्तो यसपाली पनि हाम्रो टिममा डाक्टर बिना, अधिबक्ता बिष्णु दिदि, अमृता दिदि र संगीता दिदि साथै अरु सहयोगी स्टाफहरु हुनुहुन्थ्यो ।
हामी नेपालगंजबाट धनगढी हुँदै डडेल्धुरा तिर लाग्यौं। फागुन महिना चिसै थियो र हेर्दा हेर्दै हिउँ पनि पर्नथाल्यो, म रसियाको यादले भावविभोर हुँदै थिए। तर जे होस् दृश्य सुन्दर थियो। सबै जना खुसि भए। तर बढ्दै गएको हिमपात, साँघुरो सडक चालक दाइ केहि आत्तिनु भयो किनकि हिउँले बाटो राम्ररी देखिन नि छोडेको थियो ।
केहि समय गाडी रोकियो र हामी मौसमको आनन्द लिन झर्यौं, निकै सुन्दर देखिन्थ्यो, सेतो हिउँले ढाकिदै गएको सडक अनि पहाडहरु। यस्तै मौसममा रम्दा रम्दै डडेल्धुरा पुगियो। म सोची रहेथें, डडेल्धुरा कति सुन्दर छ । सायद हुने खाने देशमा भए यो एउटा hillstation को रुप मा बिकसित हुनेथियो।
मार्तडी यात्रा 
कक्षा ७ वा ८ मा पढेको, सायद तारा नाथ शर्माले लेख्नु भएको, ‘घनघस्याको उकालो काट्दा’ भन्ने यात्रा संस्मरण, दिमागमा आइरहेथ्यो। म रोमान्चित भैरहेथे सायद एक् प्रकारको नाटक रंगमंच देखि रहेथे आँखा अगाडी।
डडेल्धुरामा एक रातको बसाइ पछि हामी साँफे बगर तिर लाग्यौं। एक दिन भरिकै यात्रा थियो। साफे बगर एउटा महत्वपुर्ण साँध थियो सुदुरपश्चिमको यात्रामा। यहाँ सम्म आइपुग्दा सम्मको सुदुरपश्मिको चित्रण गर्दै थिए मानसपटलमा । बाटोमा देखिने झुत्रो मैलो कपडा र दुखि अनुहारहरुले सायद गरीबी र बिबस्ताका कथाहरु सुनाइरहेका थिए।
हुन त म मध्यपश्चिम र मध्यमाञ्लका केहि बिकट गाउँहरु पनि घुमेको छु । तर जति गरीब भने नि सायद यो चीनबाट आउने सस्तो कपडाले गर्दाहोला त्यस्तो झुत्रो लगाई म  देख्दिन थिएँ, तर सायद यो सुदुर पश्चिममा त्यतिपनि उपलब्ध थिएन । गरीबीको चरम सिमा थियो सायद ।
मार्तडी यात्रा

यी सबै कथाहरुलाई आखामा बटुल्दै साँफेबगर पुगियो र एक रात थकाई मारेर भोलि पल्ट बाजुराको सदरमुकाम मार्तडी तिर लगियो। पानि परेकोले कहाँ हो बाट गाडी जान्न वा पुरै बाटो हिंड्नु पर्छ, त्यस्तै गार्इगुर्इ सुन्दै त्यो थोत्रो सडक यात्रामा लाग्यौं। बाटो झन झन खराब हुँदै थियो। खाल्टाहरू ठुला हुँदै गए । अनि त बेला बेलामा चक्का हिलोमा धसिन थाल्यो। चालकदाई धेरै कम बोल्थे, अनि बाटो नि त्यस्तै, हाम्लाई बोल्ने डर लग्यो । बाजुरामा यो मात्र गाडी हिंड्ने बाटो थियो, तेही पनि यस्तो खराब।
साँची सुदुर पश्चिमलाई हेपेकै रहेछ सरकारले अगाडिको बस भरी मान्छे थिए, बस हिलोमा धसिन्थ्यो, बसबाट सबै झर्थे अनि बस धकल्थे। कहिले बसले मान्छे तान्ने कहिले मान्छेले बस धकेल्ने अचम्मकै दृश्य थियो। अनि गर्दा गर्दा त गाडी रोकियो नै। अगाडी पहिरो ले बाटो गएछ डोज़रले बाटो खन्दै थियो। अनि त त्यो डोज़रको पछि पछि हामी। हरे, यस्तो नि बाटो हुदो रहेछ। त्यति गर्दा गर्दै एउटा खोलो निर पुगियो। बुढीगंगा नाम थियो क्यारे। खोला उर्लेर आइरहेथ्यो। अब त चालक दाई अगाडी जान सकिन्न भन्नु भयो। साझको ५ बाजी सक्यो। बिहान ६ बजे देखि गाडीमा हिंडेको भए नि हामी पैदलै हिडे जसरी थाकी सकेथ्यौ । अब त्यहा बास बस्न त मिल्दैन अनि बिहानै मार्तडी मा प्रशिक्षण चलाउनै पर्छ।
मार्तडी


थकीत जिउ लिएर हामी मार्तडी तर्फ लाग्यौ। अब दुख सुख जे भए नि हामी अगाडी बढ्यौं। २ घण्टामा पुगिन्छ भनेको हिंड्दा हिंड्दा अध्यारो नि भयो । ७ बजी सक्यो अझ अधा घण्टा पहाड उक्लनु थियो। शरीरमा ताकत नि खास थिएन। ओहो अनि कस्तो अनाकन्टार, स्यालको 
हुइया मात्र सुनिन्थ्यो। हामीलाई डर नि लागि राखेको थियो । बिना भन्दै थिई यो स्याल ले attack  त गर्दैन नि ? गर्दैन हामी त्यस्को शिकार हौँ र हाम्लाई attack  गर्न ?  भन्न त भने त डर त मलाई नि लागिराथ्यो। डरले गर्दा बाटो काटेको पत्तै पाइएन ।
साढे नौ बजे पहाड उक्लियौँ। मार्तडी पुगियो। बाटो जस्तो भए नि मार्तडी त ठुलै बजार रहेछ। प्रसस्तै घर थिए ढुंगाले छापेको। रातिमा त्यती राम्ररी नदेखिएनी यो बिकट ठाउँ को लागि धेरै राम्रो मान्नु पर्छ मार्तडी। जिल्ला स्वास्थ्य प्रमुख ले हामी बस्ने ठाउँ मिलाएको रहेछन । जे होस खाटमा न्यानो गरेर सुत्न पईयो, तातो खाना खान पईयो । हामी त आइपुग्यौ । हाम्रो भारी भरिया खोजेर ल्याउँदै थिए camp coordinator । फेर्ने लुगा नी छैन । तेसै सुतियो, थाकेको बेला।
बिहान उठेर बाहिर निस्केपछि पो देखियो साँची सुन्दर रहेछ मार्तडी। कता कता घान्द्रुक जस्तै लाग्ने। तर घान्द्रुक एउटा सम्पन्नहरुको बस्ति थियो । trekking route मा पर्ने घान्द्रुक, होटेल व्यवसायीहरु बस्ने सुन्दर सम्पन्न बस्ति थियो । तर मार्तडी सुन्दर भए पनि सायद आफ्नै दुख को कथा बोकेको थियो। हिउँले ढाकिएका पहाडहरुले घेरिएको मार्तडीलाई हेरेर म दङ्ग परे, हिजोको यात्राको पिडा सबै बिर्सिएँ ।
आज प्रशिक्षणको सबै तयारी भैसकेछ। हाम्रो कपडा भने अझ बाटोमै छ। न नुहाई धुवाई न के, तेही तालले त्यो दिन प्रशिक्षण चलाइयो स्वास्थ्य र गरेलु हिंसाको विभिन्न बिषयमा जिल्लाका केहि बुझ्ने मानिसहरु संग केहि ज्ञान बाड्यौं भने त्यहाँका अनुभवहरु नि साटियो ।
यहाको यो नौलो अनुभव पछि हाम्रो गन्तब्य रुगिन थियो। प्रशस्तै उत्साह डर र शंकाहरु लिएर हामी तेस्रोदिन कोल्टी तिर प्रस्थान गर्यौं ।